राष्ट्रियसभाका १७ रिक्त पदका लागि आज मतदान हुँदै

by | माघ ११, २०८२

राष्ट्रियसभाका १७ रिक्त पदका लागि आज मतदान हुँदै

काठमाडौं / राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये १७ पदका लागि आज सातै प्रदेशमा मतदान हुँदैछ । निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

कुल १८ पदका लागि निर्वाचन तय भए पनि कोशी प्रदेशमा खस आर्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैले आज बाँकी १७ पदका लागि मात्रै निर्वाचन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगका अनुसार मतदानका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय तोकिएका स्थानहरूमा आवश्यक बन्दोबस्त मिलाइएको छ । प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष मतदाता रहने यस निर्वाचनमा निष्पक्ष र शान्तिपूर्ण मतदानका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

मतदाताहरूको सहजताका लागि सम्बन्धित प्रदेशमै मतदान केन्द्र तोकिएको छ । आयोगका अनुसार कोशीको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय, मधेसको जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र र बागमतीको हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान हुनेछ ।

त्यस्तै, गण्डकी प्रदेशका लागि पोखरास्थित प्रदेश निर्वाचन कार्यालय, लुम्बिनीको दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णालीको सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिमको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान केन्द्र कायम गरिएको छ ।