विधान उल्लंघन गर्दै काभ्रे महिला जेसीजमा नेतृत्व चयन, पुनः अधिवेशन गर्न माग

by | माघ १२, २०८२

विधान उल्लंघन गर्दै काभ्रे महिला जेसीजमा नेतृत्व चयन, पुनः अधिवेशन गर्न माग

काभ्रे महिला जेसीज वर्ष २०२६ को नेतृत्व विधान उल्लंघन गर्दै चयन गरेको खुलेको छ । नेपाल जेसीजको विधानमा शाखाले सदस्यहरुको उमेर १८ वर्ष भन्दा नघटाइकन र ४० वर्षमा नबढाइकन सीमित गर्नुपर्ने उल्लेख छ । तर जेसीजको विधानलाई बेवास्ता गर्दै उमेर नाघेका व्यक्तिलाई अध्यक्ष र महासचिव बनाइएको छ । काभ्रे लेडी जेसीज वर्ष २०२६ को अध्यक्षमा मनिका शाक्य चयन भएकी छन् भने महासचिवमा मञ्जु घिमिरे निर्वाचित भएकी छन् । उनीहरु दुवै जना जेसीजको विधानविपरित चयन भएका हुन् । नागरिकतामा अध्यक्ष शाक्यको जन्म मिति २०४३ साल साउन ४ गते उल्लेख छ । जसअनुसार शाक्यको उमेर ४० वर्ष कटेको छ । त्यस्तै महासचिव मञ्जु घिमिरे ४४ वर्षको भइन् । नागरिकतामा उनको जन्म मिति २०३८ साल कार्तिक १२ गते उल्लेख छ । यसआधारमा उनी ४३ वर्ष पुरा भइ ४४ वर्ष भइन् । उनीहरुको पदस्थापन समेत भइसकेको छ । यसले शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भन्ने जेसीजको मुल मर्मकै धज्जी उडेको छ ।

उनीहरु दुवै जना जेसीजको विधान र विधि विपरित नियुक्त भएको भन्दै जेसीज केन्द्रमा उजुरी परेको छ । उजुरीमा विधि र विधान अनुसार ४० वर्ष मुनिका व्यक्तिलाई चयन गरी नयाँ अधिवेशन गर्न माग गरिएको छ ।

विधान मिचेर मनलाग्दी तरिकाले काम गर्दा अन्तराष्ट्रियस्तरमा समेत ख्याती कमाएको जेसीजको अपमान भएको सामाजिक अभियान्ताको गुनासो छ ।