आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा आयोगबाट ८ वटा स्पष्टीकरण माग

by | माघ १२, २०८२

आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा आयोगबाट ८ वटा स्पष्टीकरण माग

काठमाण्डौ – निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैरसरकारी संस्थालाई समेत गरि ८ वटा स्पष्टीकरण मागेको छ । यही माघ ४ गते राति १२ बजे आचारसंहिता लागू भएयता ८ वटा स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन् ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगदीश खरेल र विश्वराज पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा. सुरेन्द्र भण्डारी र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का शक्तिबहादुर बस्नेतलाई स्पष्टीकरण सोधेको छ । यस्तै आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीलाई पनि स्पष्टीकरण सोधेको छ ।

यसैगरी अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अर्डिनरी कंग्रेसको चुनाव आयोजना भएको विषयमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

आयोगका अनुसार उजुरीका आधारमा र आफैँले अनुगमन गरेर पनि आचारसंहिता विपरीतका गतिविधि रोक्न प्रयास भइरहेको छ ।