क्यान्सर प्रभावितहरूको उपचारको लागि कोष सङ्कलन तथा क्यान्सर सचेतना कार्यक्रम २०८२ को समापन
धुलिखेल/बैतडी जिल्लाको झुलाघाटमा सम्पन्न क्यान्सर प्रभावितहरूको उपचारको लागि कोष सङ्कलन तथा क्यान्सर सचेतना कार्यक्रम २०८२ को समापन भएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौडेल, सहायक प्रजिअ कृष्ण थापा, सशस्त्र प्रहरी बलका डिएसपी जङ्गबहादुर कुँवर, जनपद प्रहरीका डीएसपी दिपक कुमार राय, बैतडी अस्पतालका डा. प्रविन उपाध्याय, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत देवेन्द्र थापाका साथै एक महिना लामो साइकल अभियानका लिड राइडर एवं क्यान्सर विजेताद्वय हर्क लामा र कविता चित्रकार, लिड राइडर एवं डा. विकास पराजुली, राइडर भाइ राजा महर्जन, केशव केसी, विकास महर्जन एवं मचाकाजी महर्जन लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै डकुमेन्ट्री टिमका सदस्यहरु पनि सहभागि थिए ।
धुलिखेल अस्पतालका प्रा.डा. सुमन राज ताम्राकारले सचालन गर्नुभएको उक्त समापन कार्यक्रममा हर्क लामाले साइकल अभियान यात्राको उद्देश्य माथि प्रकाश पार्नुभयो । कविता चित्रकारले आफुलाई भएको क्यान्सर रोगको अनुभव र साइकल अनुभव सुनाएकी थिइन् । अर्को लिड राइडर डा. विकास पराजुलीले अभियानको सोच, उपचार कोषको उपयोग विधिबारे बताउनुभयो । डिएसपीद्वय जङ्गबहादुर कुँवर र दिपक कुमार राय, डा. प्रविन उपाध्याय र देवेन्द्र थापाले बधाई शुभकामना मन्तव्य दिनुभएको थियो ।
१८०० किमी एक महिने लामो साइकल अभियानको समापन समारोहको अन्त्यमा प्रजिअ पुण्यप्रसाद पौडेलले चिवाभन्ज्याङ देखि झुलाघाटसम्म सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई शुभकामना दिँदै संकलित रकम धुलिखेल अस्पतालमा सही तरिकाले गरिब एवं आर्थिक हिसाबले विपन्न क्यान्सर प्रभावितको उपचारमा उपयोग गरिने विश्वस्त रहेको बताउनु भयो ।






