७७ जिल्ला मध्ये जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पौष महिनाको कार्य सम्पादनमा उत्कृष्ट

by | माघ १३, २०८२

७७ जिल्ला मध्ये जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पौष महिनाको कार्य सम्पादनमा उत्कृष्ट

धुलिखेल/प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक महिना प्रहरी गतिविधी, अपराध रोकथाम तथा अनुसन्धान लगायतका विवरण सार्वजनिक गर्न तथा कार्यसम्पादनका आधारमा उत्कृष्ट घोषणा गर्न शुरु गरेको दोश्रो महिनामा नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ७७ जिल्लामा उत्कृष्ट घोषणा भएको छ ।
‘पौष महिनामा भएका गतिविधीहरुमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ७७ जिल्लामा उत्कृष्ट भएको छ’–सूचना अधिकारी डिएस्पी रविन विष्टले भने–‘कार्यसम्पादन मुल्यांकनमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ९९ पुर्णाङ्कमा ७३.७७ नम्वर प्राप्त गरेको छ । यो सबै जिल्लाले प्राप्त गरेको नम्वरमा पहिलो हो । प्रतिशतका आधारमा ७४.५१ प्रतिशत प्राप्त भएको छ ।’
कार्यसम्पादनका मापदण्ड तथा मुल्यांकनको आधार अपराध रोकथाम तथा अनुसन्धान , ग्रैह्कानूनी सामानको बरामदी, उजुरीहरुको समाधान, कर्मचारी ब्यवस्थापन, अभिलेख ब्यवस्थापन, अनुगमन तथा सुपरिवेक्षण, शान्तिसुरक्षा तथा प्रहरी कार्य, प्रहरी उत्प्रेरणा र अनुशासन, महत्वपूर्ण ब्यक्ति तथा स्थानको सुरक्षा, सूचना प्रवाह, सडक तथा सवारी आवागमन सुरक्षा, विपद ब्यवस्थापन लगायतका क्षेत्र समेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार अपराधी पक्राउ तथा अपराध अनुसन्धानमा उत्कृष्टता कायम गरिरहेको छ । भदौ २४ गते जेल तोडेर भाग्नेहरु अझै नियन्त्रणमा आईसकेका छैनन । तर प्रहरीले ५३ जना पक्राउ गरिसकेको छ । ६८ अझै फरार छन् । जेन्जी आन्दोलनका क्रममा संलग्न ५० भन्दा धेरैलाई पक्राउ गरी मुद्दा दर्ता गरिसकेको छ । अझै केहिको अनुसन्धान गरिरहेको छ ।