एमाले उम्मेदवारलाई मतदान गर्न नेपाल बौद्धिक परिषद् काभ्रेको अपिल
काभ्रे/ नेपाल बौद्धिक परिषद् काभ्रे जिल्ला समितिले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारहरूलाई मतदान गर्न काभ्रेली मतदातासमक्ष अपिल गरेको छ।
परिषद्ले जारी गरेको अपिलमा मुलुक विशेष राजनीतिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै वि.सं. २०८२ फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा मात्र नबुझी संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको संरक्षण र सुशासन स्थापनाको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरिएको छ।
अपिलमा भदौ २३ देखि सुरु भएको आन्दोलन भदौ २४ सम्म पुग्दा अनपेक्षित रूपमा हिंसात्मक र भयावह बनेको प्रसंग उल्लेख गर्दै, सो परिस्थितिपछि सिर्जित राजनीतिक अवस्थाको निकास जनमतमार्फत खोजिनु आवश्यक रहेको जनाइएको छ। परिषद्का अनुसार वर्तमान निर्वाचन लोकतान्त्रिक प्रणालीको रक्षा, पुनरुत्थानवादी शक्तिको व्यवस्थापन र शान्तिपूर्ण लोकतान्त्रिक मार्गबाट समृद्धि हासिल गर्न सकिने मान्यता स्थापित गर्ने ऐतिहासिक अवसर हो।
परिषद्ले काभ्रेपलाञ्चोक जिल्लामा निर्वाचनको माहोल दिनप्रतिदिन उत्कर्षमा पुगेको उल्लेख गर्दै सबै योग्य मतदातालाई मतदानमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ। अपिलमा विवेकपूर्ण मतदानले लोकतन्त्रविरोधी र निरंकुश सोचलाई परास्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
नेकपा (एमाले) को ऐतिहासिक भूमिका र योगदान स्मरण गराउँदै परिषद्ले पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको राजनीतिक विरासतलाई अगाडि बढाउने पार्टीका रूपमा एमाले स्थापित रहेको जनाएको छ। अपिलमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीले कठिन परिस्थितिमा पनि जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको दाबी गरिएको छ।
आगामी निर्वाचनका लागि काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ बाट अमित लामा र क्षेत्र नं। २ बाट अशोक व्याञ्जूलाई उम्मेदवार बनाइएको उल्लेख गर्दै परिषद्ले उनीहरू जनसेवामा समर्पित, अनुभवी र जिल्लाको विकासमा योगदान पुर्याउन सक्षम उम्मेदवार भएको बताएको छ। साथै समानुपातिकतर्फ सुमित्रा भोछिभोया र भक्तकुमारी लामालाई समेत सूर्य चिन्हमा मतदान गर्न आग्रह गरिएको छ।
परिषद्ले लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन भएको उल्लेख गर्दै मतदातालाई गुण–दोषका आधारमा निर्भीक रूपमा मतदान गर्न अनुरोध गरेको छ। सुशासन, विकास, समानता, राष्ट्रियता र समृद्ध नेपाल–सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फ नेकपा (एमाले) का उम्मेदवारलाई मतदान गर्न अपिलमा जोड दिइएको छ।
नेपाल बौद्धिक परिषद् काभ्रे जिल्ला समितिले काभ्रेली नागरिकको विवेकपूर्ण निर्णयले जिल्लाको समग्र विकास, राजनीतिक स्थायित्व र संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घकालीन सुदृढीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।






