ओलीले भने–आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिने कुरा सोच्न पनि सक्दिनँ
निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ गते जेनजी आन्दोलनमा आफूले गोली चलाउन आदेश नदिएको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै ओलीले भनेका छन्, ‘भदौ २३ गतेको दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन। म र एमालेका विरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह गर्दछु।’
प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा भएका व्यक्तिबीच सार्वजनिक बहस हुनुपर्ने माग उठेको छ। त्यसलाई लिएर ओलीले आफू बहसका लागि तयार रहेको सामाजिक सञ्जालमा लेखेका थिए।
त्यसमाथि कमेन्ट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० भदौ २३ गते बालिबालिकामाथि गोली हान्न आदेश दिनेहरूसँग मञ्च ‘शेयर’ नगर्ने बताएका थिए। त्यसलाई लिएर चर्चा परिचर्चा भइरहेको वेला ओलीले प्रष्टीकरण दिएका हुन्।
‘केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ, मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो। यो कुरा पूर्ण रूपमा निराधार छ,’ ओलीले भनेका छन्, ‘हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ।’






