प्रधानमन्त्रीका उम्मेदवार कोही भदौ २३ कोही २४ वाला छन् हाम्रो माघ १ वाला होः विश्वप्रकाश

by | माघ १५, २०८२

प्रधानमन्त्रीका उम्मेदवार कोही भदौ २३ कोही २४ वाला छन् हाम्रो माघ १ वाला होः विश्वप्रकाश

नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगको प्रतिनिधि भएको उपसभापति विश्वप्रकाश शर्माले जिकिर गरेका छन्।

बिहीबार काठमाडौँमा आयोजित कांग्रेसको भेलालाई सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेस नयाँ ढंगले अघि बढेको बताएका हुन्। अहिले प्रधानमन्त्रीका उम्मेदवारहरू कोही भदौ २३ र कोही भदौ २४ मा अल्झिरहेको बताउँदै कांग्रेस त्यसभन्दा अघि बढेको बताए।

‘कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन्। प्रधानमन्त्रीका उम्मेदवारहरू थुप्रै हुनुहुन्छ। कोही भदौ २३ कोही भदौ २४ वाला हुनुहुन्छ। नेपाली कांग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो,’ उनले भने।

कांग्रेसले सबै कुराको आत्मालोचना गरेर कांग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको उनको जिकिर थियो।

‘सारा विषयलाई डकुमेन्टमा लिएर रियलाइज गरेर क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढंगले एउटा नयाँ युगमा लिएर गएर फेरि पार्टी भित्रका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको कांग्रेस र कांग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि हो,’ शर्माले भने।

उपसभापति शर्माले सद्भाव, सुशासन र समन्नुत अहिलेको मुख्य मुद्दा भएको बताए। नेपाली समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सद्भाव भएको उनको भनाइ थियो।

‘अहिले समाजलाई सद्भाव सबैभन्दा बढी चाहिएको छ। हामी कसले जिताउँला आफ्नो ठाउँमा छ। जित्ने हार्ने चलिरहन्छ,’ उनले भने।