जेनजी आन्दोलनमा हिरासतबाट भागेर लुटपाट र आतंक मच्चाउने काभ्रेका ४ सहित १० जना पक्राउ

by | माघ १५, २०८२

जेनजी आन्दोलनमा हिरासतबाट भागेर लुटपाट र आतंक मच्चाउने काभ्रेका ४ सहित १० जना पक्राउ

प्रहरीले काठमाडौँमा रातको समयमा लुटपाट र आतंक मच्चाउने १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

प्रहरीले बुधबारदेखि सर्च अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए।

उनीहरूले जेन–जी आन्दोलनपछि राति १२ बजेपछि बिहान ४ बजेसम्मको समयमा हिँड्ने व्यक्तिहरूलाई लक्षित गरेर लुटपाट गर्ने गरेको थापाले बताए। लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ रहेको उनले जानकारी दिए। एसएसपी थापाका अनुसार तामाङ जेन–जी आन्दोलन अगाडी पनि बूढानीलकण्ठ क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परी महाराजगञ्ज प्रहरीको हिरासतमा थिए।

भदौ २४ मा उनी हिरासतबाट भागेका थिए। हिरासतबाट भागेपछि समूह बनाएर विभिन्न ठाउँमा लुटपाट गर्ने गिरोह गठन गरेर सक्रिय भएको उनले बताए। बुधबार साँझदेखि बिहीबार बिहानसम्म सञ्चालन गरेको सर्च अपरेसनमार्फत उनीहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडी बढाएको एसएसपी जानकारी दिए।

पक्राउको क्रममा दोहोरो झडप हुँदा प्रहरी र विनय तामाङ घाइते भएका छन्। हालसम्म उक्त गिरोहले स्वयम्भूमा ७ वटा, महाराजगञ्ज तथा बूढानिलकण्ठ क्षेत्र, बौद्ध क्षेत्र र गौशाला क्षेत्रमा ३÷३ वटा र ठिमीको क्षेत्रमा १३ वटा लुटपाट गरेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए। उनीहरू विरुद्ध हालसम्म २७ वटा जाहेरी आएका छन्।

पक्राउ पर्नेमा विनयसँगै पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउरालीका १ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली १ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु १ का १८ वर्षीय राजिब भण्डारी, रामेछापको दोरम्भा ८ का ३२ वर्षीय बिशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर ३ का २९ वर्षीय फुर्वा तामाङ छन् । उनीहरुबाट प्रहरीले ३ वटा मोटर साइकल, एउटा ट्याक्सी तथा सुनका गरगहना तथा नगद रुपैयाँ बरामद गरेको छ।

प्रहरीकाअनुसार पक्राउ परेका सबै जना विगतमा पनि चोरी र डाका मुद्दामा पक्राउ परेका व्यक्तिहरु रहेका छन्। महिलाहरूको कानको गहना लुस्ने र एकान्तमा मानिसहरूलाई लुटेर उनीहरू मोटरसाइकलमा भाग्ने गरेका थिए। लुटपाटमा संलग्नहरु काभ्रे, रामेछाप र सिन्धुली क्षेत्रका रहेका छन्।