सञ्जिवनी नमूना माविले मनायो ७६ औं बार्षिकोत्सव
धुलिखेल÷संजिवनी नमुना माध्यमिक विद्यालय धुलिखेलको ७६ औ बार्षिकोत्सव समारोह धुलिखेल नगरपालिका कार्यवाहक प्रमुख निराजन जंगमको प्रमुख आतिथ्यता तथा विद्यालय ब्वस्थापन समितिका अध्यक्ष बेदप्रसाद कोँजुको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख जंगमले इतिहास बोकेको विद्यालय सञ्जिवनी र धुलिखेल नगरपालिकाले लिएको शैक्षिक गुणस्तरको अभियानलाई संगै लैजान पहल गर्ने बताए । १ हजार १ सय १२ जना विद्यार्थीहरु अध्ययन गरिरहेको उक्त विद्यालय जिल्लामा धेरै विद्यार्थी हुने विद्यालयमा पर्दछ । बालविकासमा ६१, कक्षा १–५ सम्म २५१, कक्षा ६–८ सम्म २४१, कक्षा ९–१० सम्म २७६ र ११–१२ मा २ सय ९३ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । अध्ययन गरेका विद्यार्थी मध्ये ९० जना दलित समुदायका छन् । ३० जना अपाङ्गता भएका विद्यार्थी छन् भने २२ जना सिमान्तकृत समुदायका विद्यार्थी छन् । ५ सय १४ छात्र र ५ सय ९८ छात्रा अध्ययन गरिरहेको उक्त विद्यालयमा शिक्षक र कर्मचारी समेत गरी ७१ जना कार्यरत छन् ।
विद्यालयको बार्षिकोत्सवको अवसर पारी विद्यार्थीहरुले पढाईसँगै सिकेका विषयहरुको प्रर्दशनी गरेका थिए । प्रर्दशनीमा स्मार्ट सिटी, त्यसको परिकल्पना तथा त्यहाँ हुने पूर्वाधार तथा सुविधा, ग्रिन, क्लिन इनर्जी, शहरको सरसफाई विद्यालय भवन तथा हाईड्रोपावर लगायतका विषयहरु प्रर्दशनीमा देखाएका थिए । विद्यालयका नाममा ५० रोपनी भन्दा धेरै जमिन छ । ९ वटा ब्लकमा ३२ वटा कक्षा कोठा छन् । ३ सय भन्दा फर्निचर सहित सुविधायुक्त कक्षा कोठाहरु उपलब्ध छन् । विज्ञान प्रयोगशाला, जीवन विज्ञान प्रयोगशाला, प्राविधिकधारको प्रयोगशाला, ब्यवसायीक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याव, ईपुस्तकालय, आईसिटी ल्याव लगायतका पूर्वाधारहरु रहेको प्रधानाध्यापक टंक थापाले बताए ।
कार्यक्रममा वडा नम्वर ७ का अध्यक्ष रोमीप्रसाद ब्याञ्जु, विद्यालयका शिक्षक शकर शर्मा, विभिन्न क्षेत्रका ब्यक्तिहरु, पुर्व प्रधानाध्यापकहरु, शिक्षकहरु, चन्दादाता तथा सहयोगीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, पुर्व विद्यार्थीहरु, अभिभावकहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयको लेखापरिक्षण श्रीओम ब्याञ्जुले प्रस्तुत गरेका थिए ।





