नाईटिङ्गेल स्कुलमा घाम पानी दुबै अवस्थामा खेल्न मिल्ने खुल्ला फुटसल
बनेपा, जनागाल/जिल्लामा पहिलो पटक बालबालिकाहरुका लागि नाईटिङ्गेल एकेडेमी बनेपाले घाम र पानीमा खेल्न मिल्ने खुल्ला फुटसल शुभारम्भ गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने र प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र विष्टले खुल्ला फुटसलको शुभारम्भ गरेका हुन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जित, विद्यालयकी प्रिन्सिपल उमा बस्नेत, विद्यालयका खेलकुद शिक्षक संयोजक विक्रम प्रजापति लगायतले खुल्ला फुटसलले बालबालिकाहरुको शैक्षिक विकासमा थप सहयोग पुग्ने बताए । ‘चर्काे घाम र पानीमा समेत खेल्न सकिने गरी खुल्ला फुटसलको निर्माण गरिएको छ’– अध्यक्ष रत्नकुश रञ्जितले भने–‘फुटसल खेल्दा बालबालिकाहरुकाहरुको शारिरिक,मानसिक र शैक्षिक विकासमा सहयोग पुग्नेछ ।’
फुटसलको शुभारम्भ कार्यक्रममा प्याब्सन बनेपा र नेपाल पत्रकार महासंघ बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । दुबै समुहलाई विद्यालयको तर्फबाट ट्रफि सहित मायाको चिनो प्रदान गरिएको थियो । विद्यालयले फुटसलको उद्घाटनको अवसर पारी विद्यालयको शैक्षिक कार्यक्रम अनुसार परिक्षाफल प्रकाशन गरेको थियो । शिक्षाको गुणस्तरसँगै विद्यालयले अतिरिक्त कृयाकलापलाई प्राथमिकतामा राखेको प्रिन्सिपल उमा बस्नेतले जानकारी दिईन् ।





