चुनावमा सेनाले हवाई गस्ती पनि गर्ने
फागुन २१ गते हुने निर्वाचनमा नेपाली सेनाले हवाइ गस्ती पनि गर्ने भएको छ। अहिलेको चुनावमा यसअघि भन्दा सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा व्यवस्था थप मजबुत बनाउन लागिएको हो।
नेपाली सेनाले हवाइ गस्तीका लागि चार स्थानमा हेलिकप्टर र जहाज तैनाथ गर्ने भएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले पूर्वको इटहरीमा हेलिकप्टर र विराटनगरमा जहाज रहने बताए। यस्तै काठमाडौँ, पोखरा र सुर्खेतमा पनि हेलिकप्टर र जहाज तैनाथ राखिने भएको छ।
‘चुनावको समयमा हवाइ गस्तीहरू पनि हुन्छ। चार स्थानमा हवाइ साधन तैनाथ गरिन्छ। अवस्था अनुसार अदलबदल पनि हुनसक्छ तर अहिलेको अवस्थामा हामीले विराटनगर, काठमाडौँ, पोखरा र सुर्खेतमा हेलिकप्टर र जहाज तैनाथ गर्ने निर्णय गरेका छौँ’, प्रवक्ता बस्नेतले भने।
सेनाले हवाइ गस्ती गर्ने र कुनै स्थानमा थप मद्दत आवश्यक परे हेलिकप्टरबाट टोली पुग्नेछ। यस्तै कतिपय स्थानमा जहाजबाटै सैनिक टोली लैजानेसम्मको तयारी जंगी अड्डाले गरेको छ।
नेपाली सेनाले निर्वाचन सुरक्षाका लागि तीन चरणको तयारी गरेको प्रवक्ता बस्नेतले बताए। बम डिस्पोजलका लागि पनि सेनाले टोली तैनाथ गरेको छ।
अहिले मतपत्र छपाइ भइरहेको सानोठिमीमा सेनाले २४ घण्टै सुरक्षा दिइरहेको छ। मतपत्र ढुवानीका लागि पनि नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ। दुर्गम स्थानमा नेपाली सेनामार्फत नै मतपत्र ढुवानी गर्ने सरकारको तयारी छ। त्यसपछि सेनाकै सुरक्षामा मतदानस्थलसम्म मतपत्र पुर्याइनेछ।
जंगी अड्डादेखि युनिट तहसम्म तालिम, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग संयुक्त अभ्यास भएको छ।






