देशको नाममा उठेका प्रश्नहरू

by | माघ १७, २०८२

देशको नाममा उठेका प्रश्नहरू

म कुनै पार्टीको कार्यकर्ता होइन।
म कुनै नेताको अन्धभक्त पनि होइन।
म त केवल यो माटोमा जन्मिएको,
यही माटोमा गाडिन चाहने
एक साधारण नेपाली नागरिक हुँ।

आजकल धेरै कुरा सुन्दै छु।
सुन्दा मन भारी हुन्छ, विश्वास डगमगाउँछ,
र प्रश्नहरूले रातको निन्द्रा खोस्दछ।

सुन्दै छु—
कुनै होटलमा तिर्न बाँकी रक्सीको बिल छ रे।
सुन्दै छु—
महानगरको बजेटबाट किनिएका सामानहरू
क्वाटरबाट घरतिर सर्दै छन् रे।
सुन्दै छु—
गुट्का, पराग, खैनीजस्ता विष बेच्नेहरूसँग
नाटकिय प्रतिबन्धको भाषण साटेर
करोडौँका गाडीहरू लिइए रे।
सुन्दै छु—
सीमापारि नक्कली मतपत्र, नक्कली ब्यालेट बक्स
हाम्रो लोकतन्त्रकै नक्कल बनाएर
छापिँदैछन् रे।

यी सबै सत्य हुन् कि हल्ला—
मलाई थाहा छैन।
तर यति भने पक्का हो,
यी कुरा फैलिनु नै
हाम्रो लोकतन्त्रको हार हो।

आज म प्रश्न गर्छु—
देशको मूल्य कति तोकिएको छ?
कुन सौदामा हाम्रो सार्वभौमसत्ता राखिएको छ?
कति पैसामा हाम्रो भविष्य बोलकबोलमा चढाइएको छ?

यी प्रश्नहरू म एक व्यक्तिलाई होइन,
सिङ्गो व्यवस्थालाई सोध्दै छु।
किनकि समस्या केवल नयाँ वा पुराना अनुहार होइनन्,
समस्या त नियत हो।

पुरानाले राम्रो गरे भन्दिन।
तर “नयाँ आयो, अब सबै ठीक हुन्छ”
भन्ने अन्धविश्वास पनि गर्न सक्दिन।

जब अपराध ढाक्न सत्ता चाहिन्छ,
जब जनतालाई भ्रममा राखेर
विदेशी खेलाडीको मोहरा बनाइन्छ,
त्यो नयाँ होस् या पुरानो—
दुवै देशका लागि घातक हुन्छन्।

आज हामीले देखिरहेका छौँ—
सिंहदरबार, सांसद भवन र अदालत जलाउनेहरू,
अमेरिकी बैंकदेखि नेपाली सहकारीसम्म ठग्नेहरू,
जेलबाट कैदी भगाएर समाजमा आतंक मच्चाउन लगाउनेहरू नै
“हामीलाई बहुमत दिनुहोस्, हामी देश बनाउँछौँ”
भन्दै हिँडिरहेका छन्।

अब प्रश्न उठ्छ—
यदि यिनै हातमा देशको बागडोर पुग्यो भने
नेपाल देश नै रहनेछ कि रहनेछैन?
यो कुनै अनुमान होइन,
यो त यथार्थले प्रमाणित गरिसकेको तथ्य हो।

मलाई चुनावमा
को जित्छ, को हार्छ
त्यसले खासै फरक पार्दैन।
तर एउटा कुरा अन्तरमनको गहिरो चाहना हो—
जसले जिते पनि, देशले जितोस्।
हाम्रो सार्वभौमसत्तामा कसैले खेल्न नपाओस्।

नेपाली भएर जन्मिएको म,
नेपाली भएर मर्न पाऊँ।
देशको अलिकति पनि माया छ भने,
झुट र भ्रमको खेती त्यागौँ।

आरोप लागे उत्तर दिऔँ,
शंका उठे स्पष्ट गरौँ।
रातको १२ बजे फेसबुक पोस्ट गरेर होइन,
दिनको उज्यालोमा सत्य बोलेर
नेतृत्व देखाऔँ।

यो लेख कुनै घृणाबाट होइन,
पीडाबाट जन्मिएको हो।
यो चेतावनी हो,
बदनाम गर्ने हतियार होइन।

यदि आज हामी चुप लाग्यौँ भने,
भोलि हाम्रो सन्तानले
हामीलाई सोध्नेछन्—
“देश बेचिँदा,
तिमीहरू कहाँ थियौ?”
त्यो प्रश्नको उत्तर दिन सक्ने
हिम्मत हामीमा रहोस्।

अन्ततः,
आवेगमा होइन— बुझेर मतदान गरौँ।
भ्रममा होइन— विवेकले निर्णय गरौँ।

जय मातृभूमि नेपाल