महाभारत गाउँपालिकाको केन्द्र देविटारदेखी निजगढसम्म नियमित बस सेवा शुभारम्भ

by | माघ १८, २०८२

महाभारत गाउँपालिकाको केन्द्र देविटारदेखी निजगढसम्म नियमित बस सेवा शुभारम्भ

लक्ष्मण तिमल्सिना
महाभारत, काभ्रे 
महाभारत गाउँपालिकाको केन्द्र देविटार देखि मधेश प्रदेशको बारा निजगढसम्म नियमित बस सेवा शुभारम्भ भएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बस सेवाको शुभारम्भ गरेका छन् । देविटारबाट निजगढको दुरी ८ घण्टाको हुनेछ । 
विकटपालिका महाभारतको देविटारलाई केन्द्र बनाउँदै निजगढसम्म बस सेवा शुरु गरेकोमा काभ्रे बस सेवा प्रालीलाई गाउँपालिकाको तर्फबाट धन्यवाद ब्यक्त गर्दै सेवाको गुणस्तर र नियमिततामा ध्यान दिन अनुरोध गरे । ‘सेवाग्राहिको गुनासो नआउने गरी नियमित सेवा प्रदान गर्न अनुरोध गर्दछु’–अध्यक्ष जिम्बाले भने–‘सडक नियमित हुने गरी गाउँपालिकाबाट गर्नु पर्ने समन्वय र सहिजकरण हुनेछ ।’ विकट पालिका महाभारतबाट देविटार हुँदै निजगढ बस सेवा सञ्चालन हुँदा दुई वटा प्रदेशका चार वटा जिल्लाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । 
‘केहि दिन देखि हामीले परिक्षण सेवा संचालन गरेका थियौं । नेपाल सरकारबाट सोहि क्षेत्रको रुट परमिट अनुमति लिएसँगै आज विहान आईतबारबाट सेवा शुभारम्भ गरेका छौंं’–काभ्रे बस सेवा प्रालीका अध्यक्ष बर्ण शाक्यले भने–‘यो सेवा संचालनका लागि सहयोग र समन्वय गर्ने गाउँपालिकाकालाई धन्यवाद ब्यक्त गर्दछु ।’ साथै यात्रुहरुको गुनासो आउन नदिने गरी सेवालाई नियमित गराउने अध्यक्ष शाक्यले बताए । नियमित बस सेवा संचालनका लागि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ लगायत मकवानपुर, सर्लाही, बारा जिल्लाका गाउँपालिकाहरुले सहयोग र समन्वय गरेका छन् । 
यस अघि बनेपा–देविटार नियमित बस सेवा संचालन भएको छ । देविटार–निजगढ बस सेवा शुरु भए पछि काभ्रे बस सेवा प्रालीका लागि थप उत्तरदायित्व थपिएको सचिव कविर रञ्जितले बताए । करिव १ सय २० किलोमिटर दुरी रहेको उक्त रुट पार गर्न ७ घण्टा लाग्नेछ । महाभारतको देविटारबाट विहान ७ बजे छुटेको बस दिउसो २ बजे निजगढ पुग्नेछ । निजगढबाट देविटारका लागि पनि विहान ७ बजे नै बस छुट्ने छ । दैनिक सेवा सूचारुका लागि पहिलो पटक १० वटा बसको रुट परमिट अनुमति लिएको काभ्रे बस सेवा प्रालीका सचिव कबिर रञ्जितले बताए ।  
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले महाभारतको देविटारबाट मधेश प्रदेशको निजगढ बारासम्म बस सेवा शुरु हुँदा महाभारतको विकटता सहजतामा परिणत भएको बताए । बागमती प्रदेशको विकट पालिका भित्र महाभारत पनि पर्छ । जसको केन्द्र देविटारबाट गोकुल धाप हुँदै खानीखोला गाउँपालिकाको ताल्ढुङ्गा हुँदै मकवानपुर जिल्लाको झुरझुरे, हरिहरपुराको बफर हुँदै सर्लाही जिल्लाको बागमती चपुर पछि बारा जिल्लाको निजगढसम्म पुग्नेछ । चार जिल्ला दुई प्रदेशको केन्द्र देविटारबाट छुट्ने बस सेवा नियमितताका लागि काभ्रे बस सेवा प्रालीले आवश्यक सहजिकरण गर्नेछ । 
स्थानीय सरकार निर्वाचित भए लगत्तै महाभारतका विभिन्न वडाहरुमा पुग्ने पक्कि सडक निर्माणको कार्य जारी छ । बिपी राजमार्ग देखि मकवानपुर पुग्ने जनमुक्ति मार्ग निर्माणको कार्य धमाधम भईरहेको छ । तीनखुट्टे देखि देविटार पुग्ने ८ किमी पक्कि सडक निर्माण कार्य जारी छ । पक्कि पुल, सडक, विद्यालय भवन, विजुली, स्वास्थ्यका लागि अस्पताल तथा स्वास्थ्य संस्था निर्माणका कार्य द्रुत गतिमा सम्पन्न भएका छन् । केहि निर्माणको चरणमा छन् । अँध्यारोबाट उज्यालो तर्फ लम्किरहेको महाभारतका लागि देविटार केन्द्र हुँदै निजगढसम्म नियमित बस सेवा सञ्चालन हुँदा थप लाभान्वित हुने अपेक्षा गरिएको छ । 
विकाससँगै आयआर्जन बृद्धीका लागि पालिकाले ब्यवसायीक रुपमा कृषि तर्फ कफी तथा पशुपालनलाई प्राथमिकतामा राखेका अध्यक्ष कान्छालाल जिम्बाले बताए । विद्युत्त सेवा र इन्टरनेटको प्रयोगबाट स्थानीयहरुलाई प्रविधिमा समेत पहुँच पु¥याउँदै उत्पादन र बजारीकरणमा समेत सहजता हुने उनले बताए । संघीयताको पूर्ण अभ्यास र उपयोग महाभारतले गरे पनि निर्माण ब्यवसायीको चरम लार्पवाहीका कारण विनियोजित बजेट र आयोजनाहरु समयमै सम्पन्न नहुँदा नागरिकहरुले त्यसको उपयोय अझै गर्न सकेका छैनन । शुशासनमा समेत हरेक वर्ष शुन्य बेरुजु, स्वास्थ्य सेवामा तोकिएको मापदण्ड पुरा गरी उत्कृष्ट पालिका तथा अन्य क्षेत्रमा समेत पुरस्कृत हुँदै आएको महाभारत क्रमश सुगमता तर्फ लम्किरहेको छ ।