बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग नगर्न आग्रह

by | माघ १८, २०८२

बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग नगर्न आग्रह

काठमाडौँ — शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) ले बालबालिकालाई निर्वाचनका गतिविधिमा बालबालिकाको प्रयोग नगर्न सरोकारवालालाई अपिल गरेको छ ।

एनसीईका अध्यक्ष लवराज ओलीले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा मुनिका बालबालिका कुनै पनि बहानामा निर्वाचन वा राजनैतिक गतिविधिमा संलग्न नगराउन सम्बन्धित सबै पक्षलाई गम्भीर र जिम्मेवार हुन आग्रह गरेका छन् ।

प्रत्यक्ष रूपमा जुलुस, सभा, र्‍याली, आन्दोलन, प्रचारप्रसारमा सहभागी नगराउन अपिल गरिएको छ । अप्रत्यक्ष वा प्रतिकात्मक रुपमा झण्डा, नारा, फोटो, भिडियो, सन्देश लगायत डिजिटल माध्यममा पनि बालबालिकाको प्रयोग नगर्न एनसीईले सचेत गराएको छ ।

बालबालिकासम्बन्धी ऐन २०७५, निर्वाचन आचारसंहिता २०८२, तथा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय कार्यढाँचा तथा कार्यान्वयन निर्देशिका २०६८ अनुसार बालबालिकालाई दलीय, राजनीतिक, हिंसात्मक वा निर्वाचनसम्बन्धी गतिविधिमा संलग्न गराउनु कानुनी रूपमा पूर्णतः निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘बालिकालाई सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म वा अन्य सञ्चार माध्यममार्फत कुनै पनि व्यक्ति, संस्था वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रयोग गर्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा मान्यता विपरीत हो,’ व्यक्तिमा भनिएको छ ।

बालबालिकालाई निर्वाचन गतिविधिमा प्रयोग गर्दा उनीहरुको शिक्षा, सुरक्षा, मानसिक स्वास्थ्य तथा समग्र विकासमा गम्भीर नकारात्मक प्रभाव पर्ने एनसिईको ठहर छ । ‘विद्यालय जाने उमेरका बालबालिकालाई आन्दोलन वा निर्वाचनको वातावरणमा तान्नु बाल अधिकारको उल्लंघन मात्र नभई वयस्कहरूको गैरजिम्मेवारीपूर्ण व्यवहार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘बालबालिकाको संरक्षण गर्नु सम्पूर्ण अभिभावक, शिक्षक, राजनीतिक दल, त्यसका नेतृत्व तथा कार्यकर्ता, उमेद्वार, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा सम्पूर्ण वयस्क नागरिकहरूको कानुनी तथा नैतिक दायित्व हो ।’

एनसीईले निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न, विद्यालयको नियमित सञ्चालन सुनिश्चित गर्न र बाल अधिकारको सम्मान गर्न सबैलाई जिम्मेवारी पूर्ण व्यवहार अपनाउन आह्वानसमेत गरेको छ । उसले भनेको छ, ‘बालबालिका कुनै आन्दोलन वा निर्वाचनका साधन होइनन् । उनीहरू सुरक्षित बाल्यकाल र गुणस्तरीय शिक्षाका हकदार हुन् ।’