धुलिखेल अस्पतालले शुरु गर्यो सार्वजनिक विदाको दिन पनि ओपिडी सेवा, अन्य दिन विहान ८ बजे देखि साँझ ६ बजेसम्म समय थप
धुलिखेल/विरामी सेवाग्राहीको अत्याधिक चाप तथा विभिन्न पेशा ब्यवसायमा ब्यस्त नागरिकहरुलाई सेवा लिन असहज भएकाले हरेक ब्यक्तिका लागि सहज सेवा उपलब्ध गराउने उदेश्यले धुलिखेल अस्पतालले सार्वजनिक विदा तथा अन्य दिनमा पनि ओपिडी सेवा थप गरी सेवा विस्तार गरेको छ ।
अस्पतालका आयोजित पत्रकार सम्मेलनमा अस्पतालको विस्तारित सेवाका बारेमा जानकारी दिदै प्रशासन प्रमुख डा.बलराम मल्लले सेवाग्राहिहरुको सहजताका लागि सेवा विस्तार गरिएको बताए । डा.बलराम मल्लले भने– ‘हरेक दिन अस्पतालको ओपिडी सेवा उहि शुल्कमा विहान ८ बजे देखि साँझ ६ बजेसम्म हुनेछ । यस अघि ओपिडी सेवा ९ बजे देखि ४ बजेसम्म मात्रै उपलब्ध थियो । सार्वजनिक विदा तथा शनिबारका दिन विहान ९ बजे देखि दिउसो १ बजेसम्म ओपिडी सेवा संचालन हुनेछ ।’ थप समय र अतिरिक्त दिनको विरामीले थप शुल्क बुझाउनु पर्ने छैन । तर सार्वजनिक विदाका दिन स्वास्थ्य बीमा अन्र्तगतको सेवाहरु भने उपलब्ध हुने छैन ।’
अस्पतालका प्रवक्ता डा.सुमनराज ताम्राकारका अनुसार विहानी एवं दिँउसोको समयमा कामकाजमा ब्यस्त रहने सेवाग्राही एवं उक्त समयमा कार्य ब्यस्तताका कारण अस्पतालमा आई स्वास्थ्य सेवा लिन नसकेका सेवाग्राहीहरुका लागि विस्तारित सेवा महत्वपूर्ण हुनेछ । अस्पतालले दैनिक जीविकोपार्जन र आफ्नो स्वास्थ्य बीच छनौट गर्न नपरोस भन्ने उदेश्यका साथ ओपिडी सेवाहरु साँझसम्म विस्तार गरेको र शनिबारका दिन पनि ओपीडी सेवा सञ्चालन गरेर समुदायमा रहेका सेवाग्राहीहरुको समसामयिक आधारभुत आवश्यकताहरु पुरा गर्न अस्पताल निरन्तर सक्रिय रहेको डा.मल्लले बताए ।
कार्यक्रममा अस्पतालका संस्थापक डा.रामकण्ठ माकजुले सम्भावना र अवसरका विषयमा धुलिखेल अस्पतालबाट राष्ट्रले सिक्नु पर्ने बताए । ‘धुलिखेल अस्पतालले ३० वर्ष अघि आफ्नै कर्मचारीबाट शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम नेपाल सरकारले ढिलो गरी भए पनि शुरु ग¥यो’–डा.रामकण्ठ माकजुले भने–‘नेपाल सरकारले ब्यवस्थापनमा कठिनाई झेलिरहेको भए पनि धुलिखेल अस्पताल नमूना र उदाहरण बनेर सहयोग गर्न तप्पर छ ।’
अस्पतालले पहिलो चरणमा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुको बीमा गरेको थियो । जसका कारण परिवारका सदस्यहरुको उपचारमा सहज भएको थियो । दोश्रो चरणमा काठमाडौ विश्वविद्यालयका कर्मचारीहरु तथा विद्यार्थीहरुको समेत बीमा गरी स्वास्थ्य उपचारमा सहजता गरेको थियो । धुलिखेलले निश्वार्थ उदेश्यका साथ निरन्तर सक्रिय हुँदा जस्तोसुकै चुनौती पनि सहजताका साथ सामना गर्न सकिने उदाहरण देखाएको डा.रामकण्ठले बताए ।






