महाँकाल आधारभुत विद्यालयको ३३ औं वार्षिकोत्सव मनाईयो
धुलिखेल नगरपालिका वडा नं. ११ मा रहेको श्री महाँकाल आधारभुत विद्यालयको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नारायणप्रसाद बडालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नमोवुद्ध नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष प्रेम बहादुर तामाङ, धुलिखेल नगरपालिका शिक्षा शाखाका अशोक घिमिरे, शैक्षिक सशक्तिकरण केन्द्रका राजेन्द्र कर्माचार्य, वडा सदस्य कृष्ण बहादुर तामाङ, पुर्व वडा सदस्य गिता सुनार, संस्थापक प्रधानाध्यापक बाबुराम धिताल, शिक्षक अभिभावक संघका अध्यक्ष हर्क बहादुर तामाङ, आमा समुह अध्यक्ष रुपा श्रेष्ठको आतिथ्यता रहेको थियो । यस्तै पूर्ण सञ्जीवनी लंखनामाई माविका शिक्षक सुदर्शन धिताल, बालचेतना प्रा.वि का प्रधानाध्यापक राजेन्द्र हुमागाँई, बछलादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक राजेश कोइराला, संगित शिक्षक दिपक तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष बडालले संघिय संरचनापछि सामुदायिक विद्यालयको गुणस्तर बढ्दै गएको बताए । शिक्षक–अभिभावकको निकट सम्बन्ध, सरोकारवालाको चासो र नियमित अनुगमनले शैक्षिक उपलब्धि बढ्दै गएको उनको भनाई छ । कार्यक्रममा प्रधानाध्यापक सदानन्द धितालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रधानाध्यापक धितालले विद्यालयले पाठनपाठनसँगसँगै व्यवहारिक सिकाई, प्रविधिको अधिकतम प्रयोग र संस्कारसहितको शिक्षामा जोड दिएको बताएका । गत वर्ष ७१ प्रतिशत रहेको शैक्षिक उपलब्धि यो वर्ष ७५ प्रतिशत पुर्याउने लक्ष्य रहेको जानकारी दिए । नविनतम शिक्षण विधिको रुपमा एमजीएमएल कक्षा सञ्चालन गरिरहेको पनि उनले जानकारी दिए । विद्यार्थीको व्यक्तित्व विकास, क्षमता विकास गराउँदै सिकाईमा रुची जगाउँन एमजीएमएल शिक्षण विधि प्रभावकारी भएको उनको भनाई छ । यद्यपी कक्षाकोठाको अभाव, शिक्षक दरबन्दीको अभाव जस्ता समस्या विद्यालयले भोगिरहेको उनको गुनासो छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले समुदायसँगको सहकार्य बढेको बताए । सबैको सहयोग र मेहनतले उपलब्धी पनि बढ्दै गएको उनको भनाई छ । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सुस्मा थापाले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन शिक्षक टिकानारायण श्रेष्ठले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।






