झापामा ‘कसलाई मत दिनु हुन्छ ?’ भनेर सोध्न नपाइने, गोपनीयता भङ्ग नगर्न आग्रह

by | माघ १९, २०८२

झापामा ‘कसलाई मत दिनु हुन्छ ?’ भनेर सोध्न नपाइने, गोपनीयता भङ्ग नगर्न आग्रह

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् । केही अनलाइन सञ्चारमाध्यमले मतदाताहरुसँग कुन दल, उम्मेद्वार र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ, भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएकाले त्यसलाई रोक्न सार्वजनिक सूचना निकालेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रसाइँको भनाइ छ ।

यदि कसैले अटेर गरी आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेसमेत जिल्ला प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।