भारतमा निपाह संक्रमण बढेपछि दाङमा उच्च सतर्कता, राप्ती अस्पतालमा आइसोलेसन तयारी
काठमाडौं / छिमेकी मुलुक भारतका विभिन्न राज्यमा निपाह भाइरसको संक्रमण देखिएसँगै दाङमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकाले संक्रमण नेपालमा फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै शंकास्पद बिरामीको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा आइसोलेसन कक्षको व्यवस्था सुरु गरिएको छ।
प्रदेश सरकारबाट तयारी अवस्थामा रहन पत्राचार प्राप्त भएपछि अस्पतालले आवश्यक पूर्वतयारी अघि बढाएको राप्ती प्रादेशिक अस्पतालका प्रवक्ता डा. शिशिर पोख्रेलले जानकारी दिए। उनका अनुसार निपाह भाइरस नेपालका लागि नयाँ रोग भएकाले यसबारे अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीलाई रोगको स्वरूप, सर्ने माध्यम र सावधानीबारे जानकारी गराइसकिएको छ।
डा. पोख्रेलका अनुसार कोरोना महामारीका समयमा तुलसीपुर उपमहानगरपालिकाले अस्पताल परिसरमै निर्माण गरेको आइसोलेसन भवनमा हाल पाँच बेड क्षमताको आइसोलेसन कक्ष तयार पारिँदैछ।
चिकित्सकहरूका अनुसार निपाह भाइरस चमेरो र सुँगुरबाट सर्ने अत्यन्तै जोखिमपूर्ण भाइरस हो। चमेराको पिसाब वा र्याल फलफूलमा खस्दा, त्यस्ता फलफूल जुठो बनाउँदा वा अन्य जनावरले खाँदा संक्रमण फैलिन सक्ने बताइएको छ। मानिसबाट मानिसमा कोरोना जस्तै हावाबाट नफैलिने भए पनि संक्रमित व्यक्तिको र्याल वा सिँगानसँग प्रत्यक्ष सम्पर्कमा आए संक्रमण सर्न सक्ने डा. पोख्रेलले बताए। उनका अनुसार निपाह भाइरसको मृत्युदर कोरोनाभन्दा उच्च रहेको छ।
चिकित्सकहरूले निपाह भाइरसबाट संक्रमितमध्ये करिब ५० देखि ६० प्रतिशतसम्मको ज्यान जाने जोखिम रहने उल्लेख गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। चमेराबाट सुँगुर र सुँगुरबाट मानिसमा संक्रमण सर्न सक्ने भएकाले सुँगुरको मासु राम्ररी पकाएर मात्र खान तथा सुँगुरको मल प्रयोग गरिएका तरकारीसमेत पकाएर खान सुझाव दिइएको छ।
संक्रमण भएपछि चारदेखि १४ दिनभित्र, बढीमा ४५ दिनसम्म लक्षण देखिन सक्ने बताइएको छ। सुरुमा ज्वरो आउने, शरीर दुख्ने, घाँटी दुख्ने र बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्। यी लक्षण अन्य सामान्य संक्रमणसँग मिल्दोजुल्दो हुने भएकाले प्रयोगशाला परीक्षणबाट मात्र पुष्टि गर्न सकिने चिकित्सकहरूको भनाइ छ।
निपाह भाइरसबाट बच्न मास्कको प्रयोग, हात धुने वा सेनिटाइजर प्रयोग गर्ने तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन्।






