चुनावी माहोल र यसको सामाजिक प्रभाव
बासुदेब घिमिरे, बनेपा
देश निर्वाचनमय छ । निर्वाचन आयोगले समानुपातिक तर्फको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिसकेको छ भने प्रत्यक्ष तर्फका उम्मेदवारहरुको पनि टुंगो लागिसकेको छ । आफ्नो उम्मेदवारी भएको क्षेत्रमा आफू जित्नका लागि उम्मेदवारहरु लागिपरेका छन् । आआफ्नो आस्था रहेको दललाई भारी मत दिलाउनका लागि हरेक क्षेत्रका कार्यकर्ताहरु पनि उत्तिकै सक्रिय भएका छन् । लोकतन्त्रको यो सुन्दर पर्वमा देश होमिएको छ । अैले देशैभरी कुनै चिया पसल वा होटल छैन, जहाँ चुनावको चर्चा नभएको होस्, यस्तो कुनै जमघट छैन जहाँ यो विषयले प्रवेश नपाएको होस् । कतिपयको त घर, भान्सामा समेत यहि विषयले महत्व पाएको छ । आजका हरेक नौजवान समेत चुनावलाई लिएर बढि नै हौसिएका छन् चासोका साथ लागिरहेका छन् जसले यो चुनावलाई विगतको भन्दा केहि पृथक बनाएको छ । यसैपनि भदौ २३÷२४ को अप्रत्यासित घटनाले २ वर्ष चाडैं आइपुगेको यो निर्वाचन विशेष नै हो ।
राज्यका सानाठूला हरेकजसो निर्णयहरुले जनताको दैनिकीमा कतै न कतै प्रभाव पारेको हुन्छ । निर्वाचनले त झन् समाजमा एककिसिमको तरङ्ग नै पैदा गरेको छ । मुलत यो निर्वाचनलाई लिएर दुईखालको विचार सशक्त रुपमा मैदानमा भिडिरहेको छः एउटा पूराना दलको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै भदौको घटनाको पक्षपोषण गरिरहेको विचार र अर्कौ त्यसलाई ध्वशंको रुपमा व्याख्या गर्दै विरोध जनाइरहेको विचार । यी दुबै विचारका आआफ्ना तर्क, सिद्धान्त र मतहरु होलान् । दुबैका फाइदा बेफाइदाका सम्बन्धमा पनि धेरै चर्चा परिचर्चा गर्न सकिएला । कुन तर्क जायज हो भन्ने कुराको निर्णय यहि निर्वाचनको परिणाम मार्फत जनताले गर्लान् आज हामी यसले वर्तमान समाजमा पारेको प्रभावको सम्बन्धमा नियाल्ने प्रयास गर्नेछौं ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका बालेन एकै क्षेत्रबाट लडेकोले पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । दुबैजनाले फरक दुई विचारधाराको नेतृत्व गरिरहेको हुनाले पनि यसलाई महत्वका साथ हेरिएको छ, जुन स्वभाविक पनि हो । चुनाव प्रजातन्त्र वा लोकतन्त्रको अक्सिजन हो । जनताले पनि आफूलाई मनपर्ने नेतृत्व चयन गर्ने र मन नपर्ने नेतृत्वलाई मतदानबाटै सजाय दिने भएकोले यो खुला जनअदालत पनि हो । जनताको निर्णय नै अन्तिम हुन्छ, जसको न कतै सुनुवाई हुन्छ न पुनर्विचार । त्यसैले त लोकतन्त्रमा जनमत सर्वौपरी हुन्छ, जनता सर्वशक्तिमान् हुन्छन् । त्यसैले लोकतन्त्रमा विश्वास राख्नेहरुका लागि निर्वाचन एक अवसर र चुनौती दुबै हो । जसको नतिजा स्वीकार्नुको बिकल्प केहिपनि बाँकी रहँदैन ।
हाम्रो समाज विविधतामा एकता बोकेको खुला प्रकृतिको समाज हो । यहाँ आफ्ना विचारहरु स्वतन्त्र ढंगले राख्न पाइन्छ भने इतर विचारहरुलाई तथ्यका आधारमा खण्डन गर्न पनि पाइन्छ । जसले पनि अरुको विचारको खण्डन गर्दै आफ्नो विचार स्थापित गराउने प्रयास गर्ने हो । चुनावी माहोलमा त यस्तो प्रयास नेता देखि कार्यकर्ता र सर्वसाधरणले समेत गरिरहेका हुन्छन् । स्वस्थ ढंगले आफ्ना विचारहरुले अरुमाथि प्रभाव जमाउन खोज्नु जायज पनि हो । तर यदाकता चुनाव र मायामा जे नि जायज हुन्छ भनेजस्तो भाष्य निर्माण गरिएको देखिन्छ, सुनिन्छ । भर्खर बहुदल आउँदाको रापताप यस्तो पनि थियो, समग्र सामाजिक संरचना नै विभक्त देखिन्थे । विभिन्न सामाजिक सार्वजनिक संस्थाहरुमा समेत आफ्नो दलको कब्जा कसरी जमाउने भन्ने प्रयत्न हुन्थे । कतिपय ठाउँहरुमा त पारिवारिक र व्यक्तिगत सम्बन्ध समेत दलबाट प्रेरित र प्रभावित हुन थालेको थियो । भदौको घटनाले पनि नेपाली समाजमा विस्तारै एउटा चिरा पार्दैछ । त्यो घटनाका पक्षधर र विरोधी हरेक समाजमा विभक्त देखिन थालेका छन् । अझ पारिवारिक सम्बन्धमा समेत यसले प्रभाव पार्न थालेको छ । यति कठोर रुपमा आफ्ना विचारहरुलाई स्थापित गराउन खोजिँदैछ कि त्यसको इतर विचार त सुन्न लायक पनि छैन जस्तो भाष्य निर्माण भइरहेको छ । यसले सामाजिक सम्बन्धहरु नै खण्डित हुने पो हुन् कि भन्ने खतरा बढ्दै गएको छ । अझ झापा ५ को भिडन्तलाई नै लिने हो भनेपनि यी दुबै शक्तिमध्ये जोसुकैले हारेपनि त्यसपछिको दृश्य झनै भयानक पो हुने हो कि भन्ने खतरा समेत देखिन्छ । यसको प्रभाव देशैभर नपर्ला भन्न सकिंदैन ।
राजनीतिको आडमा आफ्ना स्वार्थ सिद्धि गर्नेदेखि स्वतन्त्र रहनुपर्ने निकायहरुमा समेत खुलमखुला आक्रमण भएको देख्दा देख्दा वाक्क भएर भएको विद्रोह पछि सिर्जना भएको शून्यतामा अराजकता मौलाएकै हो भने यसले दूरगामी अनुशासनहीनतालाई समेत बल पुराएको छ । लाग्छ आजको जति अनुशासनहीन समाज हाम्रो कहिल्यै थिएन । नराम्रा कुराहरुको विवेकपूर्ण विरोध र राम्रा कुराहरुको समर्थन गर्नुको सट्टा एक अर्काका उग्रविरोधी धारणा र व्यवहार समाजमा व्याप्त छ । अब त छोराले बाबुलाई र बाबुले छोरालाई मैले भनेजस्तो गरिनस् भने हाम्रो सम्बन्ध सकियो भन्नेसम्मको अवस्था आएको छ । सामाजिक संरचनाको जरा यति कमजोर भइसकेको छ कि कतै अलिकति चलाईदिंदा सबैतिर भताभुङ्गै पो हुने हो कि भन्ने चिन्ता छ । बेलैमा यस्तो अवस्थालाई मध्येनजर गरी स्वस्थ चुनावी प्रचार गर्न र नतिजा जे जस्तो पनि आउन सक्छ त्यसलाई स्वीकारी समाजमा अमन चयनको वातावरण कायम गर्न लाग्नुपर्छ भनी सबैले आफ्ना पक्षधरलाई सचेत गराउनुपर्छ । अहिले त हामीले भनेजस्तो भएन भने झन् बिद्रोह हुन्छ भन्दै त्राश र आक्रोश फैलाउने कार्य भइरहेको छ जुन सर्वथा गलत छ । चुनावी नतिजाले कसैलाई जितको सिन्दुर लगाइदेला कसैलाई सिकाइको सन्देश छोड्ला । यसलाई स्वभाविक रुपमा लिई सामाजिक एकता कायम गर्ने कुरामा भने सबै सचेत हुनु जरुरी छ । चुनावले एउटा सन्देश देओस्, जनताको आवाज बोलोस् तर सामाजिक संरचना भत्काउने विष नघोलोस्, सामाजिक एकता नभत्काओस् ।





