दक्षिण एशियाका चार देशका साझेदारहरूको काठमाडौंमा भेला, ‘ज्ञान साटासाट र सिकाइ सम्मेलन’
काठमाडौं/दक्षिण एशियाका साझेदार संस्थाहरूबीच अनुभव, सिकाइ र रणनीति आदान–प्रदान गर्ने उद्देश्यसहित ‘दक्षिण एशियाली साझेदारहरूको ज्ञान आदान–प्रदान तथा सिकाइ सम्मेलन २०२६’ सम्पन्न भएको छ ।
एचआरडिसी अस्पतालद्वारा आयोजित सम्मेलनमा मिराकलफिटको आर्थिक सहयोग रहेको थियो । सम्मेलनमा २५ जना सहभागी थिए । सम्मेलनमा पाकिस्तान, बंगलादेश, श्रीलंका तथा नेपालका साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी थिए । सम्मेलनमार्फत दक्षिण एशियाली मुलुकहरूमा कार्यक्रम सञ्चालनका क्रममा प्राप्त अनुभव, साझा चुनौती, सफल अभ्यास तथा भविष्यका सहकार्यका अवसरबारे विस्तृत छलफल भएको थियो ।
दक्षिण एशियामा समान प्रकृतिका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । तर, मुलुक अनुसार चुनौती र समाधानका अभ्यास फरक–फरक छन् । यो सम्मेलनले ती अनुभवलाई एउटै प्लेटफर्ममा ल्याएर साझा सिकाइ र सहकार्यलाई बलियो बनाउने अपेक्षा लिएको छ । आयोजकका अनुसार सम्मेलनमा सहभागीहरूले आफ्नो देशमा भएका कार्यक्रमको प्रगति, समुदायस्तरमा देखिएका वास्तविक समस्या, सेवा विस्तारका रणनीति तथा दीर्घकालीन प्रभाव सुनिश्चित गर्ने उपायहरूबारे प्रस्तुति र छलफल भएको थियो । सम्मेलनले दक्षिण एशियाली साझेदारहरूको नेटवर्क बलियो हुने विश्वास ब्यक्त गरिएको छ । एचआरडिसीले क्लव फुट भएका बालबालिकाहरुको निरन्तर उपचार गरिरहेको छ । समुदायमा भएका त्यस्ता बालबालिकाहरुलाई समयमै उपचार गर्न र त्यसका लागि एचआरडिसीले समन्वय गरिरहेको छ ।
आयोजक संस्थाका अनुसार यो सम्मेलनले दक्षिण एशियाका साझेदारहरूबीच केवल ज्ञान आदान–प्रदान मात्र होइन, नेटवर्किङ, सहकार्य र संयुक्त रणनीति निर्माणमा समेत सहयोग पु¥याउने विश्वास ब्यक्त गरेको छ । एचआरडिसीले सम्मेलनबाट प्राप्त निष्कर्ष र सिकाइलाई आगामी दिनमा कार्यक्रम सुधार, सेवाको गुणस्तर वृद्धि तथा साझेदार संस्थाबीच समन्वय बढाउन प्रयोग गरिने जनाएको छ ।






