सन्दीप के. सी
स्वास्थ्य शाखा प्रमुख,
धुलिखेल नगरपालिका
यति वेला नेपाल पनि निपाह भाइसको संक्रमणको जोखिममा परेको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण(पूर्वी एसियाली क्षेत्रमा निपाह भाइरसको जोखिम न्यून रहेको भएता पनि हाम्रो छिमेकी देशहरूमा देखिएका घटनालाई मध्यनजर गर्दै नेपालको स्वास्थ्य मन्त्रालयले पूर्वतयारी स्वरूप सबै नागरिक सचेत रहन आग्रह गरिसकेको छ । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन समेत दिएको छ। तर आम नागरिकमा भने निपाह भाइरस संक्रमण बारे जानकारी कमै रहेको छ ।
सबैभन्दा पहिला यो सन् १९९९ मा मलेसियाको सुङ्गाई निपाह भन्ने स्थानमा यो रोग देखा परेकोले यस ठाउँको नाम बाट नै यस भाइरसको नाम पनि निपाह भाइरस राखिएको हो । सुरुमा यस रोगको लक्षण जापानिज ईन्सेफलाइटीस संग मिल्ने भएकोले पहिचान गर्न नसक्दा मलेसियाले निकै ठुलो क्षति व्यहोर्नु परेको थियो । निपाह भाइरसको कारण हुने संक्रमण एक भाइरल संक्रमण हो। निपा भाइरस जुनोटिक भाइरस हो । अर्थात् यो भाइरस जनावरबाट मानिसमा सर्छ । निपासंक्रमित चमेरो, बङ्गुर वा संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा आएमा यो भाइरस सर्ने गर्छ । संक्रमण भएको ४ देखि १४ दिनभित्र निपा भाइरसका लक्षणहरू देखिन थाल्छन् । फ्रुट ब्याट भनिने ठूला चमेरोमा पाइने निपाह भाइरस संक्रमित फलाहारी चमेराको र्याल, पिसाब वा मलमूत्रले दूषित बनाएका फलफूल सेवन गर्दा मानिसमा संक्रमण हुन सक्छ। यसका साथै संक्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट र चमेरोबाट सुँगुर हुँदै यो भाइरस मानिसमा सर्ने गर्दछ ।
निपाह संकर्मणमा बिरामीलाई ज्वरो आउने, टाउको र मांसपेशी दुख्ने, चक्कर लाग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, बान्ता हुने र गम्भीर अवस्थामा बेहोस हुने जस्ता लक्षण देखा पर्छ। त्यसपछि बिरामीमा इन्सेफ्लाइटिस अर्थात् मस्तिष्कको सुजनका लक्षण देखिन सक्छन् । यस्तो गम्भीर अवस्था आएमा बिरामी २४ देखि ४८ घण्टाभित्र अचेत अवस्थामा जान सक्छ । साथै, निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन सक्छ । विश्व स्वास्थ्य संगठनले यो भाइरसको संक्रमणको कारण मृत्यु हुने दर ४० देखि ७५ प्रतिशतसम्म पनि हुने गरेको देखाएको छ । भारत र बांगलादेशमा निपा भाइरसको मृत्युदर औषतमा ७० देखि १०० प्रतिशतसम्म रहेको छ । उपचारपछि निको भएका करिब २० प्रतिशत बिरामीमा दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुनसक्छ ।
भारतमा निपाह भाइरसको संक्रमण पुष्टि भएकोले तथा नेपाल र भारतबीच खुला सिमाना भएको कारण नेपालमा समेत खतरापूर्ण अवस्था रहेको देखिन्छ । बाह्य रूपमा मात्रै नभएर आन्तरिक हिसाबले पनि यो भाइरसको प्राकृतिक रिजर्भोयर मानिने चमेरो नेपालमा पनि पाइने भएकोले समेत सचेत रहनु बढि जरुरी छ । त्यस्तै गरी यो भाइरस सुँगुरमार्फत मानिसमा र मानिसबाट मानिसमा सजिलै सर्न सक्ने भएकाले नेपालमा सुँगुर पालन अव्यवस्थित भएको कारण पनि निपाह भाइरस संक्रमणको माहामारीको जोखिममा रहेकोछ ।
निपाह संक्रमणबाट बच्न फलफूलहरु खाँदा राम्ररी पखालेर मात्र खानु पर्दछ । तरकारी राम्रोसँग पकाएर खानु पर्छ भने पानी उमालेर सफा र सुरक्षित पिउनु पर्दछ। नेपालमा सुँगुरहरू मर्दा के कारणले मर्यो भनेर त्यसको खोजी खासै गरेको पाइँदैन । त्यसैले पनि अब सुँगुर मर्यो वा बिरामी पर्यो भने त्यसको पनि कारण खोज्ने र परीक्षण गर्नु पर्छ । यस्तै,मासु काट्दा पञ्जा र मास्कको प्रयोग गर्नु पर्छ। साबुनपानीले राम्ररी हात धुने र मास्क लगाउने गर्नाले यसको संक्रमणबाट बच्न सकिन्छ । निपाह संक्रमणको लक्षण देखिएमा तुरुन्तै आइसोलेसनमा बस्ने तथा स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्छ ।






