काठमाडौं / प्रधानमन्त्री एवं रक्षा मन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको चुक हुन नदिन नेपाली सेनालाई कडा निर्देशन दिएकी छन्।
मंगलबार जंगी अड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनमा देखिएका सुरक्षा संयन्त्रबीचको समन्वयसम्बन्धी कमजोरी दोहोरिन नदिन सतर्क रहन आग्रह गरिन्।
उनले विगतका अनुभव र आसन्न निर्वाचनका विविध पक्षको गहन विश्लेषण गर्दै सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढंगले जिम्मेवारी पूरा गर्न निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले पाएको जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गर्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताइन्।
त्यस्तै, नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने, प्रहरी कारबाहीलाई सहजीकरण र सुरक्षित बनाउने तथा सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन गर्न अन्य सुरक्षा तथा सम्बन्धित निकायहरूसँग स्पष्ट कार्ययोजनासहित सहकार्य गर्न पनि उनले निर्देशन दिएकी छन्।






