काभ्रेपलाञ्चोक जिल्लामा २ हजार ९० जना निर्वाचन प्रहरी दीक्षित भएका छन् । १० कार्यदिन अवधिको निर्वाचन प्रहरी प्रशिक्षण तालिम समापनको अवसरमा उनीहरुलाई दीक्षित गरिएको हो ।
समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाह, डिएसपी रविन विष्ट लगायतले उच्च मनोवलका साथ अनुशासित भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए ।
काभ्रेपलाञ्चोक जिल्लामा ८८ मतदानस्थल सुरक्षाका हिसाबले संवेदनशील देखिएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रले मतदानस्थलहरुलाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरेको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको काभ्रेका १ सय ८९ मतदानस्थल मध्ये २३ वटा अति संवेदनशील, ६५ वटा संवेदनशील र एक सय एक सामान्य रहेका छन् ।
काभ्रे जिल्लामा निर्वाचनका लागि एक हजार १ सय २२ नेपाल प्रहरी, २ हजार ९४ जना निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचन खटिने भएका छन । जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न पनि प्रहरीले िवशेष अपरेशन चलाईरहेको छ भने हालसम्म ५३ जना पक्राउ परेका छन् । ६८ जना कैदी अझै फरार छन् । तीन लाख २६ हजार ६ सय ११ मतदाता रहेको काभ्रेमा स्वतन्त्र र राजनीतिक दलबाट गरी ४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।






