काभ्रेमा पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सुरु भएको छ । धुलिखेल नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा जनस्वास्थ्य कार्यलय काभ्रेको सहजीकरणमा धुलिखेल नगरपालिका वडा नं. स्थित पञ्चकन्या आधारभुत विद्यालयबाट औपचारिक रुपमा अभियान शुभारम्भ गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
धुलिखेल नगरपालिका सामाजिक विकास समिति संयोजक गणेश आचार्यको सभापतित्व रहेको कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणी न्यौपाने, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, सरोज थापा, विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । काभ्रेपलाञ्चोक जिल्लामा ३ हजार २ सय ९० जना बालिकालाई पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भी खोप उपलब्ध गराइने छ । कक्षा ६ अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्षका किशोरीहरुका लागि उक्त खोप सेवा उपलब्ध हुनेछ । अभियानमा गत वर्ष छुटेका उमेर समुह भित्र पर्ने किशोरी तथा छात्राहरुका लागि पनि खोप सेवा उपलब्ध हुनेछ ।
धुलिखेलमा २५९, बनेपामा ९५५, पनौतीमा ५००, पाँचखालमा २८४, मण्डनदेउपुरमा २३०, नमोबुद्धमा १८७, भुम्लुमा ८३, चौरीदेउरालीमा ९८, तेमालमा ७८, रोशीमा २०३, महाभारतमा १६६, खानीखोलामा १३१ र बेथान्चोक गाउँपालिकामा ११६ जना गरी ३ हजार २ सय ९० जना बालिकाहरुलाई खोप लगाईनेछ । खोप लगाउनेहरु मध्ये गत वर्ष छुटेका ११–१४ वर्ष उमेर समुहका गत वर्ष छुटेका १८ जना, कक्षा ७–१० अध्ययन गर्ने ९७ जना, १० वर्षका ८ जना र यो शैक्षिक सत्रमा कक्षा ६ मा अध्ययन गर्ने ३१६७ जना रहेका छन् ।
माघ २३ गते शुरु गरी २८ गते चौरीदेउराली गाउँपालिकाले अभियान सम्पन्न गर्नेछ । पनौतीले माघ २५ देखि शुरु गरी २९ गत समापन गर्नेछ । पाँचखालमा २६–२९, धुलिखेलमा २७–२९, बनेपामा २७–फागुन २, मण्डनमा २८–२९, नमोबुद्ध २८–३०, भुम्लुमा २६–२८, तेमाल २८– फागुन १, रोशी २६–फागुन १, महाभारतमा फागुन ४–५, खानीखोलामा फागुन ५–७ र बेथान्चोकमा माघ २८ देखि फागुन १ गतेसम्म खोप अभियान संचालन हुनेछ ।
जनस्वास्वाथ्य कार्यालय काभ्रेकी प्रमुख रागिश्री कक्षपति श्रेष्ठले खोप अभियानका बारेमा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाई अभिमुखिकरण तथा अभियानको तालिकाका बारेमा आवश्यक समन्वय गरिएको बताईन् । अभियानले तोकेका उमेर समुहका किशोरी छात्राहरु सबैलाई खोप लगाउने गरी अभियान संचालन हुने उनले बताईन् ।
नेपालमा पाठेघरको मुखको क्यान्सर रोगको संक्रमण हरेक वर्ष २ हजार १ सय ६९ जनामा हुने गरेको छ भने सोहि कारण १ हजार ३ सय १३ महिलाले ज्यान गुमाउनु परेको छ । दैनिक ४ जना महिला यहि रोगका कारण ज्यान गुमाउने अवस्थामा पुगेका छन् । यसको रोकथाम तथा न्यूनीकरणका लागि यौन सम्पर्क राख्नु अघिका किशोरीहरुलाई उक्त खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर हुने जोखिम न्यूनीकरण हुनेछ ।






