कविता : शिव चिन्तन

by | फाल्गुन ३, २०८२

यो धर्ती हाम्रो श्वर्गनै होस् है छ भने कामना,
सद्गुण रोजी गर्नुनै पर्छ असल चिन्तन,
असलपन त्यो शिव तत्व धारण गरेर,
सबैको संधै भलोनै होस् त्यो मनमा राखेर,

कुमार्ग छाडी सत्मार्गतिर बढ्नु छ अगाडि,
विकृति अनि कुभावलाई पारेर पछाडि,
विचार उम्दा सोचाई राम्रो हटाऔं कुतर्क,
ती दिनचर्या बितुन हाम्रो बनेर सतर्क,

स्वच्छ यो मन शिवको बास त्यो कुरा सम्झेर,
दिनहुँ हामी साधना गरौँ आफैमा फर्केर,
सुभाव संधै मनमा हुनु शैवत्व त्यही हो,
ढांट्ने र छल्ने मै खाउं भन्ने दानवी गुण हो,

भौतिक सुख मोज र मस्ती खोजेर हिँड्दा त,
यो शिव तत्व जान्न र बुझ्न कहाँ पो मिल्ला त,
वशमा राखी इन्द्रियलाई श्री शिव चिन्तन,
गरेमा नित्य आत्मिक लाभ मिल्नेछ सद्गुण,

दुःखको मार्ग कामना हो नि निराश पार्दछ,
अधिक तृष्णा शत्रु हो यस्ले जिउँदै मार्दछ,
समय केही निकाली मन एकाग्र पारेर,

ध्यानमा बसी श्री शिव बुझ्ने अभ्यास गरेर,
सत्मार्ग हिँड्ने असली बाटो आजनै रोजौँन,
कल्याणकारी चिन्तन गर्दै अगाडि बढौँन,
नगरी ढिलो अहिल्यै हामी अगाडि बढौंन!

त्यो सोमवार शिवको बार पावन दिनमा,
तयार होऔं ॐ नमो शिवाय यो मन्त्र जप्नमा !
आध्यात्मिक चिन्तनको पर्व महा शिवरात्रीको
पावन अवसरमा सबै शिवभक्तमा हार्दिक शुभकामना।