बनेपा/ बागमती ईङ्गलिश बोडिङ स्कुल बनेपाको २६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह कार्यक्रम बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा तथा विद्यालयका सञ्चालक समितिका अध्यक्ष प्रताप बैधको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रिन्सिपल दिपेन्द्र विष्टले सभामा प्रस्तुत गरेका थिए । विद्यालयले विद्यार्थीहरुको ब्यक्तित्व विकास र नेतृत्व विकासका लागी विभिन्न अतिरिक्त कक्षाहरु सञ्चालन गर्दे आएको बताए । विद्यालयले २०८१ को एस ई ई मा विज्ञान विषयमा जिल्लामा प्रथम भई सबै जनाले ४ जिपिए ल्याएको, विभिन्न कार्यक्रममा उत्कृष्ट हुदै आएको, विद्यार्थीहरुको गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेको विष्टले बताए ।
कार्यक्रमका प्रमुख अतिथी शाक्यले बनेपा नगरपालिकाले नगर भित्रर रहेका विद्यालयहरुमा पढाउने कक्षा १ देखी ८ को बनेपाको चिनारीमा पढाई हुने र कक्षा ७ र ८ मा नैतिक शिक्षा विषयमा पढाउने बताए । विद्यार्थीहरुमा अहिले नैतिकता हराउदै गएकाले अनिवार्य उक्त नैतिक विषय राखिएको शाक्यले बताए ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धर, प्याब्सन अध्यक्ष श्याम बहादुर भुजेल लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रममा कक्षा यु केजीका ४८ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो भने विद्यालयले सञ्चालन गरेका विभिन्न अतिरिक्त कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।






