इरानले इजयरायलमा गर्‍यो भीषण आक्रमण

by | चैत्र ८, २०८२

इरानले इजरायलमा भीषण हवाई हमला गरेको छ। इजरायलले दक्षिणी सहर अरादमा इरानले हानेको क्षेप्यास्त्रले ठुलो मात्रामा क्षति भएको बताएको छ।

इजरायलको आपत्‌कालीन सेवा म्यागेन डेभिड एडोमका अनुसार आक्रमणमा परी घाइते ८८ जनालाई अस्पताल भर्ना गरिएको छ।

जसमध्ये १० जनाको अवस्था गम्भीर छ भने १९ जना मध्यम घाइते छन् अनि ५५ जना सामान्य घाइते भएका छन्।

आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अरादका मेयरसँग कुरा गरेका छन्।

नेतन्याहुले शनिबार साँझ भएको आक्रमणलाई ‘धेरै कठिन साँझ’ भनेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो भविष्यका लागि यो चलिरहेको अभियानमा यो साँझ धेरै कठिन छ। मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयहरूसँग मिलेर सबै आवश्यक सहयोग प्रदान गर्न निर्देशन दिएको छु।’

नेतन्याहुले थप लेखेका छन्, ‘म हाल घटनास्थलमा काम गरिरहेका आपत्‌कालीन र उद्धार टोलीहरूको प्रशंसा गर्छु र म सबैलाई होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह गर्दछु।’

नेतन्याहुले शत्रुविरुद्ध आक्रमण जारी रहने पनि उल्लेख गरेका छन्।

अमेरिका(इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।

इरानमा अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी ९एचआरएएनए० ले जनाएको छ।

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।

यसैबिच अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को कुड्स फोर्सका प्रमुख कमान्डर ब्रिगेडियर जनरल इस्माइल कानीले पहिलोपटक शनिबार सार्वजनिक अभिव्यक्ति दिएका छन्।

जसमा उनले शीर्ष र वरिष्ठ नेता तथा अधिकारी मारिए पनि उनीहरूको आन्दोलन कमजोर नहुने उल्लेख गरेका छन्।