काभ्रे, पनौती । अक्षरमार्गको आयोजनामा पनौतीमा सम्पन्न ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’मा तीन स्रष्टालाई सम्मान गरिनुका साथै तीन दर्जनभन्दा बढी कविहरूले काव्यवाचन गर्दै वसन्तलाई शब्द र भावमार्फत जीवन्त बनाएका छन् ।
यस वर्ष श्रीराम जगतमाया अक्षरमार्ग साधक सम्मान’ पत्रकार सुकृत नेपाललाई , ‘कृष्णसुन अक्षरमार्ग काव्य सम्मान’ साहित्यकार हरिसुन्दर छुकांलाई तथा ‘कमानसिंह तुलसा स्रष्टा सम्मान’ शैली साहित्य समाजकी मञ्जुश्री प्रधानलाई प्रदान गरिएको हो
सम्मानित व्यक्तित्वहरूको योगदान, साहित्यिक यात्रा र समाजमा पुर्याएको प्रभावबारे कार्यक्रममा विस्तृत चर्चा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभू घिमिरेले पनौतीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई स्मरण गराउँदै कविता केवल भाव अभिव्यक्ति मात्र नभई समाज रूपान्तरणको सशक्त माध्यम भएको उल्लेख गरे । उनले महाभारत र रामायणका उदाहरण प्रस्तुत गर्दै “कविले के लेख्यो भन्दा पनि कसरी लेख्यो भन्ने कुरा नै महत्वपूर्ण हुन्छ” भन्ने धारणा राखेका थिए ।
साहित्यकार स्नेह सायमीले वसन्तलाई उमेरभन्दा विचारसँग जोड्दै ‘आशा’ कविता वाचन गरे । साहित्यकार लक्ष्मी मालीको ‘मेरी छोरी’ कविता वाचनसँगै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको कार्यक्रममा उनले साहित्यको प्रवर्द्वनका लागि वसन्त काव्य गोष्ठी उल्लेखनीय कार्यक्रम भएको बताइन् । कवि सूर्यप्रसाद लाकोजूले कविताले समाजलाई सकारात्मक परिवर्तन तर्फ लग्ने विचार पोते ।
कार्यक्रममा तीन दर्जन कविहरूले काव्य वाचन गरे । काव्यवाचनले समकालीन समाज, राजनीति, संस्कार, संस्कृति र व्यक्तिगत अनुभूतिका विविध आयामलाई उजागर गरेको थियो । रमेशजङ्ग थापाको ‘मौरी कमिला र जेन जी’ ले पुस्तान्तरणको द्वन्द्व झल्कायो भने सुरेश सैंजुको ‘उत्साही’ ले जीवनप्रतिको सकारात्मक ऊर्जा व्यक्त गरेको थियो । मोतिराज बमको ‘समयको रङ’ र वसन्त नकर्मीको ‘रातको प्रथम प्रहर’ ले समय र चेतनाको गहिरो विश्लेषण प्रस्तुत गरे ।
रहेना नकर्मी (‘म कोरु’), शम्भुलाल श्रेष्ठ (‘देश त फुर्सद भए पो बनाउनु’), एलके सुन्दर (‘कुरा हारजीतको हैन’), दिनेशमान प्रधान (‘नसोध्नू’), पुरुषोत्तम ताम्राकार (‘मुलुक अब बन्छ रे’) र रजनी मिला (‘तिमीले आत्महत्या गर्नेछौ सरकार१’) का कविताहरूले सामाजिक यथार्थ, राजनीतिक विडम्बना र नागरिक चेतनालाई सशक्त ढङ्गले प्रस्तुत गरे ।
त्यसैगरी ध्रुवकृष्ण ताम्राकार (‘सुनामीका अर्थहरू’), डा. राजेन्द्र कोजू (‘कमरेडलाई प्रश्न१’), हरिप्रसाद चौँलागाईंको भुजङ्गप्रयात छन्दमा रचित ‘सुरक्षा’, बिकुनारायण ताम्राकार (‘हाम्रो पनौती’) लगायतका रचनाहरूले स्थानीयता र वैश्विक सन्दर्भलाई जोड्ने प्रयास गरे । पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ (‘शान्ति हराएको देश’), विजयराम कर्माचार्य (‘देशको माया’ गीत), ध्रुवराज थापा ९‘ए आगो खेलाउने मान्छे१’), राजेशमान केसी (‘हाम्रो संस्कृति’) र तुयुकाजी कर्माचार्य (‘बोका’) ले विविध शैलीमा समसामयिक सन्देश दिएका थिए ।
कार्यक्रममा रामसुन्दर देउजाका ‘तीन मुक्तक’ले छोटो संरचनाभित्रै जीवनका गहिरा सत्यहरू उजागर गरे भने रामकुमार पण्डितको ‘झोले’ले समकालीन समाजको व्यङ्ग्यात्मक चित्र प्रस्तुत गरेको थियो । भीमप्रसाद काफ्लेको ‘अनुभूतिका चार टुक्रा’ले टुक्राटुक्रा अनुभवहरूलाई एकै सूत्रमा गाँस्दै संवेदनाको बहुआयामिक रूप प्रस्तुत गर् । बिमला शर्माको ‘वसन्त छाइरहोस्’ले आशा, पुनर्जागरण र सकारात्मक भावनाको सन्देश प्रवाह गर्यो । ब्रह्मप्रिय प्रेमस्वरूपको ‘अव्यक्त सत्य’ नाम संवाद कविताले अभिव्यक्त गर्न गाह्रो लाग्ने सत्यहरूलाई कलात्मक रूपमा उद्घाटन गरे ।
त्यसैगरी, सुभद्रा अधिकारीको ‘नयाँ पुस्ताको दैनिकी’ले बदलिँदो समय, प्रविधि र पुस्तान्तरणबीचको जीवनशैलीलाई सजीव ढङ्गले चित्रण गर्यो भने सुभद्रा दाहालको ‘वसन्त आएको छ’ले समग्र कार्यक्रमकै भावनात्मक सार बोकेर नयाँ आशा, ऊर्जा र परिवर्तनको संकेत दिँदै गोष्ठीलाई एक प्रकारको काव्यमय पूर्णता प्रदान गर्यो ।
इन्द्रेश्वर क्याम्पसका प्रमुख श्रीकुमार सुवालले स्वागत मन्तव्य राख्दै साहित्य देशअनुकूल हुनुपर्ने र यस्ता कार्यक्रमहरूले सृजनशीलता अभिवृद्धि गर्ने बताए । क्याम्पसका अध्यक्ष तुयुकाजी ताम्राकारले कवि समयका द्रष्टा हुने उल्लेख गर्दै यस्ता गोष्ठीले समाजलाई दिशानिर्देश गर्ने धारणा राखे ।
कार्यक्रमका संयोजक सूर्यप्रसाद लाकोेजुले कविताको शक्तिले विविध स्रष्टाहरूलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताए । उनले अक्षरमार्गले प्रकाशन कोष र सम्मान कोषमार्फत साहित्यिक गतिविधि निरन्तर अगाडि बढाउँदै आएको जानकारी गराए ।
‘शब्दमा वसन्त, भावमा जीवन’ भन्ने सशक्त नारासहित सम्पन्न कार्यक्रमको सभापतित्व सूर्यप्रसाद लाकोेजुले गरेका थिए भने सञ्चालन सुभद्रा अधिकारीले गरेकी थिइन् । इन्द्रेश्वर क्याम्पसको संयोजनमा सम्पन्न उक्त कार्यक्रमले पनौतीमा साहित्यिक वसन्तको लहरलाई थप सशक्त बनाएको सहभागीहरूले बताएका छन् ।






