अदालतमा धरौटी बुझाउँदै दश वर्ष देखि निरन्तर ‘चोरी’
धुलिखेल/२०८२ पुष २३ गते पक्राउ परेका चोरी अभियोगका अभियुक्त तथा अर्काे चोरी घटनामा कैद सजायँ फैसला भई फरार कैदी रहेका सिन्धुपाल्चोक जिल्ला घर भई काठमाडौमा डेरा गरी चोरी ब्यवसाय गर्ने एक अभियुक्त ईलाका प्रहरी कार्यालय बनेपाको हिरासतबाट उपचार गराउन जाने भन्दै भागेको ८० दिन वितेको छ । उनी अझै फेला पर्न सकेका छैनन ।
२०८२ पुष २३ गते काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका ३ स्थित डेराबाट उनलाई चोरी गरेको नगद ५० हजार सहित प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बनेपा ल्याएको थियो । बनेपाको हिरासतमा एक रात बसेका सिन्धुपाल्चोक पाँचपोखरी थाङ्गपाल घर भई काठमाडौमा डेरी गरि बस्दै आएका अभियुक्त जिमी लामा जिल्ला अदालत काभ्रेपलाञ्चोक आदेशमा आफन्तको जिम्मेवारीमा उपचार गराउन लैजाने क्रममा भागेका हुन् । प्रहरीले हालसम्म उनलाई पक्राउ गर्न सकेको छैन । सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्वर ७ घर भई हाल काठमाडौ कागेश्वरी मनहरा ४ बस्दै आएका २३ बर्षिय राज लामा र सोहि ठेगाना भई हाल काठमाडौ गोकर्णेश्वर नगरपालिका वडा नम्वर ७ बस्ने ३२ बर्षिय जिमी लामाले बनेपा नगरपालिका वडा नम्वर ७ गोदामचोक इन्द्रमाया तामाङको डेरा कोठाको ढोकाको दराज फोडी कोठा भित्र पसी त्यहाँ भित्र राखिएका दराजका समेत ताल्चा फुटाएर गहना र नगद चोरी गरेका थिए । प्रहरीले जिमी लामालाई गोकर्णेश्वर नगरपालिका ६ नारायणटारबाट जिमी लामालाई २०८२ पुष २३ गते पक्राउ गरेको थियो । उनको साथबाट नगद ५० हजार र डेरा कोठाबाट मोवाईल बरामद गरेको थियो । अर्का राज लामा योञ्जन पनि कागेश्वरी मनहरा नगरपालिका ४ स्थित नयाँगाउबाट पक्राउ परेका थिए । ४ वटा सिम, दुईवटा मोबाईल सहित उनलाई नियन्त्रणमा लिएको थियो ।
चोरी कार्यका लागि उनिहरुले काठमाडौ स्थित रामेछाप अटो इन्टरप्राईजेजबाट २०८२ मसिंर २२ गते एक लाख ८५ हजारमा मोटरसाईकल किनेका थिए । चोरी कार्य सके पछि राज लामाले विदेश जानु प¥यो भन्दै १ लाख ६३ हजार रुपैयामा मोटरसाईकल फिर्ता गरे । जिमी र उनी लामो समय देखि एउटै स्थानमा बस्ने गरेका थिए । जिमी हरेक घटनामा फरक फरक ब्यक्तिलाई लिएर चोरीमा जाने गरेका थिए । घर भित्र पसेको बढीमा ७ मिनेट भित्र उनी सामान लिएर भाग्न सफल हुने गरेका थिए । सोहि घटनामा पनि उनले ५ मिनेट लगाएका थिए । राज लामा योञ्जन बाईक स्टार्ट गरी बसेका थिए । सामान लिएर आए लगत्तै उनिहरु काठमाडौ पुगेका थिए । ८ वर्ष अघि उनले बनेपाको बुडोलमा त्यहि शैलीमा चोरी गरेर भाग्दा भाग्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
२०८२ पुष १३ गते दिउसो १ बजेको समयमा मोटरसाईकल लिएर आई घर भित्र प्रवेश गरी कोठा, कोठा भित्रको दराज समेत फोडेर सुनका गहना लुटेका राज र जिमीलाई धरौटीको आदेश भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले नकवजनी चोरीमा संलग्नलाई धरौटीमा छाड्ने आदेश दिएको हो । उनिहरुले नगद र गहनाहरु समेत गरी १९ लाख रुपैयाको धनमाल चोरी गरेका थिए । जिमी पटक पटक चोरीमा संलग्न ब्यक्ति हुन् । यस अघि पछिल्लो पटक चोरी अभियोगमा काठमाडौ जिल्ला अदालतबाट २०८० असोज ८ गते ३ वर्ष कैद र ३० हजार जरिवाना ठहर हुने गरी फैसला भएका ब्यक्ति हुन् । पक्राउ परेका जिमीका सन्र्दभमा फरार प्रतिवादी सम्वन्धी कारवाहीका लागि माग गरिएको थियो । जिल्ला अदालत काभ्रेको आदेश अनुसार अस्पताल पठाईएका प्रतिवादी जिमी लामा हाल फरार छन् । राज लामा योञ्जन प्रहरी बृत्त ठिमीमा चोरी मुद्दामा अनुसन्धानका क्रममा छन् । उनलाई अदालतको धरौटी आदेश पछि प्रहरी बृत्त ठिमीमा बुझाउन भनिएको छ । जिमी विगत एक दशक देखि निरन्तर चोरीमा संलग्न छन् ।
एक तोलाको सुनको तिलहरी, एक तोलाको सुनको सिक्री, आधा–आधा तोलाका २ थान झुम्का, डेढ तोलाको बेरुवा रिङ, एक तोलाको औठी र नगद २ लाख ६२ हजार गरी १८ लाख ८५ हजार ५ सय ९३ रुपैयाको सम्पत्ति चोरी भएको हो । चोरी गर्ने प्रयोजनका लागि बागमती प्रदेश ३–०२–०१४ प ०६५० नम्वरको बजाज कम्पनकिो २२० सिसिको मोटरसाईकल प्रयोग गरिएको थियो ।





