काठमाडौं / नेपाल प्रहरीले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्री तथा उनीहरूको परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का, साथै उनीहरूको परिवारको चल–अचल सम्पत्ति र आम्दानीको स्रोतका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अनुसन्धान भइरहेको छ ।
यसै क्रममा आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।
पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान अघि बढाइएको छ ।
२४ भदौमा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा, दाहाल र खड्काका घरबाट जलेका नोटका टुक्रा फेला परेका थिए ।
सो घटनापछि विभागले विस्तृत अनुसन्धानका लागि सीआईबीलाई पत्र पठाएको थियो । प्रारम्भिक अनुसन्धानको आधारमा तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ ।






