बाढी पहिरो पछिको विपत्तिः लैनो भैँसी ‘मासु’ मा
विकास तिमल्सिना
चलाल, पनौती
मानवीय क्षतिको प्रारम्भिक तथ्याङ्कहरु सार्वजनिक भए पनि पशुपंक्षीहरुमा भएको क्षतिको एकिन विवरण अझै आउन सकेको छैन । ज्यान जोगाउन भागेका आफन्तहरु फर्किन सकेका छैनन । बस्ने घर छैन । टेक्ने जमिन छैन । बचेका पशुहरु जोगाउन नसके पछि धमाधम मासुमा लैजान थालिएको छ ।
‘ज्यान जोगाउन भागियो । घरमा बस्ने अवस्था छैन । ज्यान त जोगाईयो पशुहरु जोगाउन सकिएन’– पनौती १० का डम्बरबहादुर खड्काले भने–‘भएका पशुलाई मासुमा पठाउने निर्णय गरियो । लैनो भैसी दुध दिन छाड्यो । दुध दुहुने मान्छे समेत छैन । मासुमा विक्री गर्नुको विकल्प छैन ।’ सोहि क्षेत्रका केहि भैसीहरु मासुमा विक्री भएका छन् । खसि बोकाहरु चोरी हुन थालेका छन् । राति राति कुर्ने मान्छे छैनन । भएका पुशहरु हराउन पनि थाले । पाल्न नसके पछि मासुमा विक्री गर्नुको विकल्प नभएको खड्काले बताए ।
बेथान्चोक गाउँपालिका केहि कृषकहरुले गोठ भित्रै पशुहरु पुरिए पछि खोलाले बगाएको बताए । केहि पशुहरु पुरिएको स्थानबाट निकाल्न सकिएको छैन भने केहिलाई खोलाले बगाएर लगेको बताए । पनौती ८ मल्पि तिपचोकमा प्रगति कृषि फार्मका ४० वटा भैसीको नगरपालिकाले उद्दार गरेको छ ।
मिलन कृषि फार्मका १४ वटा भैसीको पनि उद्दार गरिएको छ । असोज १० गते राति देखि केहि खान नपाएका ४० पशुको मंगलबार राति उद्दार गरिएको हो । उपप्रमुख गिता बञ्जाराले निरन्तर सडकको अवरोध हटाउन प्रयत्न गरी भैसीहरुको उद्दार गरिएको बताईन् । भैसीले पानी समेत खान नपाउँदा सुत्केरी भैसीहरु विरामी पर्न थालेका छन् । उक्त फार्ममा ३ वटा सुत्केरी भैसी सहित १४ वटा दुहुना भैसी छन् ।
पनौती नगरपालिका भैसीको पकेट क्षेत्र हो । नगरपालिकाले तत्कालिन अवस्थामा ८ सय पाडी वितरण गरेको थियो । पशुहरुको मृत्यु, घाईते र सडक अवरोधका कारण कृषकहरुले उत्पादन गरेको दुध सडकको पुहँचसम्म ल्याउन सकिएको छैन । काभ्रेपलाञ्चोक जिल्लामा पशुपंक्षी मरेको यकिन तथ्यांक संकलन हुन सकेको छैन । कुखुरा फार्महरु पुरिएका छन् । कृषकहरुलाई ठुलो क्षति पुगेको छ ।
पशु सेवा कार्यालय काभ्रेका निमित्त प्रमुख पशु विकास अधिकृत डा.निशान्त शर्मा गेलालका अनुसार तत्काल घाईते पशुपंक्षीको उद्धार, उपचार र मृत्यु भएका पशुहरु गाड्नलाई पशु सेवा प्राविधिकहरु परिचालन गरिएको छ भने सम्भव भएका स्थानमा पशु भेटनरी एम्बुलेन्स सेवा संचालन गर्ने निर्णय गरिएको डा. गेलालले जानकारी दिए । तत्काल किसानलाई राहतका लागि सरकारसँग अनुरोध गरिएको उनले बताए ।






