सुरक्षण मुद्रण केन्द्रबाट शुरु भयो सवारी चालक अनुमतिपत्र छपाई, संचारमन्त्री खरेलले गरे शुभारम्भ

by | कार्तिक २१, २०८२

सुरक्षण मुद्रण केन्द्रबाट शुरु भयो सवारी चालक अनुमतिपत्र छपाई, संचारमन्त्री खरेलले गरे शुभारम्भ

श्रीखण्डपुर, पनौती/सरकारको आफ्नै स्वामित्व रहेको सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमपतिपत्र (लाईसेन्स) छपाई कार्य शुभारम्भ गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सवारी चालक अनुमतिपत्र छपाईको शुभारम्भ गरेका हुन् ।

पनौती नगरपालिका वडा नम्वर ५ मा रहेको साविकको आईटी पार्कलाई सुरक्षण मुद्रण केन्द्र बनाउने तत्कालिन मन्त्री गोकुल बास्कोटाको प्रस्तावलाई प्रधानमन्त्री केपी ओली सरकारले निर्णय गरेसँगै २ सय ३५ रोपनी क्षेत्रफलको प्रयोग विहिन संरचनामा नेपालका लागि आवश्यक पर्ने अत्यावश्यक कागजात, कार्ड र बैक नोेट छाप्ने तयारी स्वरुप सुरक्षण मुद्रण केन्द्र स्थापना गरिएको थियो । ‘अघिल्ला सरकार, मन्त्री र यो केन्द्र संचालनका लागि विभिन्न रुपले सहयोग पु¥याउने तथा यहाँसम्म ल्याउने सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दछु’–मन्त्री खरेलले भने–‘विगतका घटना, मुद्दामामला तथा आशंकाहरु चिर्दै शुसासन र पारदर्शिताका साथ सरकारले यो केन्द्र संचालनमा ल्याएको छ ।’

सवारी लाईसेन्सका साथै अन्य महत्वपूर्ण सरकारी कागजात र कार्डमा आधारित सेवाका साथै नीजि क्षेत्रका लागि आवश्यक पर्ने अन्य कागजातहरु पनि यहि केन्द्रबाट छपाई गर्ने गरी मन्त्री नियुक्ति भएको पहिलो बैठबाट नियमावली शंशोधन, नितीगत ब्यवस्था, श्रोत सुनिश्चितता र जनशक्ति ब्यवस्थापन लगायतका कार्यहरु शुरु गरिएको मन्त्री खरेलले बताए ।

‘खण्डहर बनेको संरचनामा धुलो टक्टक्याउँदै काम गर्न शुरु गरेका छौं । अर्बाैको लगानी छ । भवनहरु जिर्ण छन् । खरिद गरिएका मेशिनहरु प्रयोगविहिन छन् । भवनहरु अलपत्र छन्’–मन्त्री खरेलले भने–‘यसका बाबजुत पनि सवारी चालक अनुमितपत्र छाप्ने हिम्मत गरेका छौं ।’

यो सरकारका लागि बोझ नभई आयश्रोतको राम्रो माध्यम र नागरिकहरुलाई सेवा प्रदान गर्ने पहिलो र अब्बल संस्थाका रुपमा चिनाउने गरी कार्य प्रारम्भ गरेको उनले बताए । विदेशी पुँजी रोक्न र नागरिकहरुलाई आजको भोली नै सेवा प्रदान गर्न सुरक्षण मुद्रण केन्द्र सक्षम रहने उनले बताए । यो केन्द्रबाट लाईसेन्स पछि पहिलो चरणमा ९ वटा सरकारी कागजात छाप्ने तयारी सरकारले गरेको उनले बताए । पुरानो संरचना बाहेक सुरक्षण मुद्रण केन्द्रका लागि ३ अर्बको लगानी भईसकेको छ ।

पहिलो चरणमा प्रति दिन ५ सय लाईसेन्स छापिनेछ । ६ महिना भित्र १२ लाख लाईसेन्स छापिने गरी तयारी गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले ३० लाख नागरिकको लाईसेन्स यही अवधीमा छापिने दावी गरे ।